Wednesday, December 16, 2009

कम्बोडियाको पाठ


कम्बोडियाको राजधानी नोमपेन्हको मध्य भागमा अवस्थित टुल स्लेङमा सन् १९७५ सम्म एउटा सुन्दर विद्यालय थियो। विद्यालयका तीन वटा पक्की भवनमा माध्यमिक तहसम्मको पढाइ हुन्थ्यो, बीचमा अफिस र खेलमैदान थिए। प्राथमिक भवन अगाडि काठको ठूलो फ्रेममा पीङ थियो, जहाँ सयौँ स्कूले केटाकेटी रमाउँदै खेल्थे। गएको १६ नोभेम्बरमा त्यहाँ पुग्दा नरसंहार सङ्ग्रहालयको रूपमा स्थापित सो विद्यालय परिसरले कम्बोडियाको खमेर रुज (लाल खमेर) सरकारले १९७५-७९ मा गरेको हजारौं मानिसहरूको दमन र संहारलाई सम्झ्ायो।
नोमपेन्हमा ठाउँ-ठाउँमा सुनौलो रङले झ्लमल्ल बौद्ध मन्दिर, बिहार एवं स्तूप, बिहानै भिक्षाटनमा हिँड्ने पहेँला कपडा लगाएका बौद्ध भिक्षु र उनीहरूका भिक्षापात्र भरिदिन बाटामा उभिएका श्रद्धालु नरनारी देखिन्थे। टुल स्लेङ सङ्ग्रहालयभित्र राखिएका सामग्रीको अवलोकन र कम्बोडियामा त्यसबेला भएका घटनाको अध्ययनपछि यति शान्त र सुन्दर समाज कसरी संसारकै दुर्दान्त नरसंहारस्थल बन्न पुग्यो भन्ने थाहा भयो।
हिन्द-चीन क्षेत्रमा अमेरिकी हस्तक्षेप विरुद्ध लडिरहेका कम्युनिष्ट छापामारहरू कम्बोडिया, लास र भियतनाममा १९६० देखि नै सक्रिय थिए। तीमध्ये कम्बोडियाको ग्रामीण क्षेत्रमा विशेष प्रभाव भएको पोलपोट नेतृत्वको कम्पुचियाली कम्युनिष्ट पार्टीले १९७५ मा कम्बोडियाको सत्ता कब्जा गर्‍यो। त्यसपछि स्थापित प्रजातान्त्रिक कम्पुचिया को खमेर रुज सरकारले पहिलेको लोन-नोल सरकारमा काम गरेको र त्यसलाई समर्थन गरेको आरोपमा लाखौँ कर्मचारी, नेता, बुद्धिजीवी, पेसाकर्मी तथा सैनिक अधिकारीलाई गिरफ्तार एवं हत्या गर्न थाल्यो। तत्पश्चात् नोमपेन्हमा अमेरिकी हवाई आक्रमण हुने हौवा फिजाएर यहाँका सबै बासिन्दालाई कारबाहीको कडा चेतावनीसहित तुरुन्त सहर छाड्न आदेश दियोे। यस्तै आदेश अन्य सहरमा पनि जारी गरिएको थियो।
खमेर रुज सरकार पेसाकर्मी, लेखक, शिक्षक, डाक्टर, इन्जिनियर, उद्योगपति आदि सबैलाई सहरमा बसेर गाउँका मानिसहरूको शोषण गर्ने शोषक-परजीवी ठान्थ्योर परम्परागत धार्मिक, पारिवारिक एवं सामाजिक सङ्गठन तथा जन्म, विवाह, मृत्यु संस्कारले समाजलाई बिगार्छन् भन्ने दृष्टिकोण राख्थ्यो। यी सबैलाई ध्वस्त पारेर समानताको आधारमा नयाँ आङ्कोर (सहकारी सङ्गठनरुपी कम्युन) बनाउन उसलेसहरहरू बलपूर्वक खाली गरायो, स्कूल, कलेज, विश्वविद्यालयहरू बन्द गर्‍यो र पूँजी, व्यापार, सम्पत्ति, जमिन, कलकारखाना, उत्पादनका स्रोतसाधनमाथि राज्यको स्वामित्व कायम गर्‍यो। परिवारसँग बस्न कसैले पाएन,सबैले गाउँमा राज्यले खोलेको आङ्कोरअन्तर्गत बस्नु, खानु र त्यसैको जमिनमा सामूहिक खेती गर्नुपर्ने भयो। खमेर रुजले नागरिकहरूलाई दुई वर्गमा विभाजित गरेको थियो― पहिलो, आधार वर्ग मा गाउँका किसान र दोस्रो, नयाँ वर्ग मा सहरबाट धपाइएका मानिस पर्दथे। आङ्कोरका प्रमुख आधार वर्गबाट चुनिन्थे, नयाँ वर्गले तिनकै खटनपटनमा काम गर्नुपर्थ्यो।
१९७६ मा कम्युनिष्ट सरकारले धान उत्पादनलाई प्राथमिकता दिएर चारवर्षे राष्ट्रिय योजना तयार पार्‍यो, जसलेकृषिलाई आधुनिकीकरण गरी त्यसबेला प्रतिहेक्टर एक टनभन्दा कम हुने गरेको धान उत्पादन तीन टन पुर्‍याउने लक्ष्य लिएको थियो। उत्पादनको ठूलो हिस्सा अन्तर्राष्ट्रिय बजारमा बेचेर राष्ट्रिय आम्दानी बढाउने र बाँकीबाट आङ्कोरमार्फत खाद्यान्न आपूर्ति गर्ने, बीउबिजनका लागि जगेडा राख्ने र राष्ट्रिय खाद्यान्न कोष बनाउने निर्णय लिइयो। तर मुलुकसँग यस्ता मह त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने जनशक्ति थिएन। नयाँ वर्ग विभाजनले समाजलाई खलबल्याएको थियो। कहिल्यै खेतीको काम नगरेका पेसाकर्मी र व्यवसायीलाई जबर्जस्ती सामूहिक खेतीमा लगाइएको थियो। तिनै पनि सत्तारुढ पार्टीका उग्र कार्यकर्ताको व्यवहारले हतोत्साही थिए। त्यसैले उत्पादनमा ह्रास आयो।
तर तल्लो तहका पार्टी कार्यकर्ताले क्रान्तिलाई सफल देखाउन केन्द्रलाई उत्पादन बढेको गलत तथ्याङ्क दिँदै तल पर्याप्त खाद्यान्न र बीउबिजन समेत नराखी सबैजसो उत्पादन केन्द्रमा पठाए, जुन सैनिक शिविर एवं पार्टी कार्यकर्तामा बाँडियो। यता कामदारहरू पर्याप्त खाना, मानवोचित बसोबास र औषधोपचारको अभावमा कुपोषित एवं बिरामी हुँदैगए। पार्टी कार्यकर्ताको कडा अनुशासनमा १२ देखि १६ घण्टासम्म काम गर्नुपर्ने उनीहरूलाई भनेको नमानेको देखि खानेकुरा चोरेको अपराधमा पक्रेर क्रान्तिकारी शिक्षा को लागि सुरक्षा केन्द्र मा पठाइन्थ्यो। जो समातिन्थे, तीमध्ये थोरै मात्र बाँचेर निस्कन्थे।
समाजमा आउने कुनै पनि समस्याको दोष देशी-विदेशी प्रतिगामी तत्वलाई दिँदै आङ्कोरहरूलाई तिनलाई खोजी-खोजी निर्मूल गर्न निर्देशन दिइएको थियो। कसले कसको बारेमा सूचना दिन्थ्यो पत्तो हुँदैनथ्यो। संदिग्ध व्यक्तिमा बालबालिकादेखि बूढाबूढीसम्म पर्दथे। अधिकांश प्रतिगामी पढेलेखेका एवं सहरबाट धपाइएका नयाँ वर्गका मानिस हुने गर्दथे। टुल स्लेङजस्ता करिब दुई सय सुरक्षा केन्द्र यिनै वर्गशत्रुलाई ठेगान लगाउन खडा गरिएका थिए। यहाँ तिनलाई थुनेर पुछताछ गर्ने, अपराध कबुल गराउने र कारबाही गर्ने काम हुन्थ्यो। कठोर अपराधी लाई स-साना कोठरीमा एक्लाएक्लै र अन्यलाई सामूहिक रूपमा थुनिन्थ्यो। प्रत्येकलाई हात पछाडि फर्काएर बाँधिएको र खुट्टामा फलामका नेल लगाएर भित्ता वा फलामे खाटमा अड्काइएको हुन्थ्यो। कसैले एकअर्कासँग बोल्न पाउँदैनथ्यो। बन्दीहरूलाई कोर्रा हानेर, पीङको फ्र्रेममा उभिण्डो पारी झ्ुण्ड्याएरर त्यहीँ राखिएका ठूला पानीका गाग्रामा टाउको डुबाएर केरकार गरिन्थ्यो। कति केरकारकै क्रममा मर्थेभने कतिलाई प्रायोजित कागजमा जबर्जस्ती सहीछाप गराएर अपराध कबुल गराई प्रायः मारिन्थ्यो। मार्ने पनि विभिन्न शैली थिए। धेरैलाई कोदालाको पाता र काठका मुङ्ग्राले टाउकामा हिर्काएर मारिएको थियो। यातनाले बेहोस भएकालाई जिउँदै प्लाष्टिकमा पोको पारेर गाडिन्थ्यो र त्यत्तिकै मर्दथे।
खमेर रुज शासनमा टुल स्लेङ सुरक्षा केन्द्रमा मात्र १० देखि २० हजार मानिस मारिएको र कम्बोडियाभरि यातना, दमनका साथै कठोर परिश्रम, भोक, रोग समेतका कारण २० देखि ३० लाख मानिसको ज्यान गएको अनुमान छ। सुरक्षा केन्द्रमा मरेका र त्यहाँबाट मार्ने निर्णय गरिएकालाई सहर बाहिर सामूहिक चिहानमा लगेर तह लगाइन्थ्यो। टुल स्लेङका धेरैलाई नोमपेन्हदेखि १५ किलोमिटर दक्षिण-पश्चिमको चोयुङ येक सामूहिक चिहानमा गाडिएको थियो।
अन्ततः १९७९ मा कम्बोडियामा प्रतिक्रान्तिलाई प्रोत्साहित गरेको आरोपमा भियतनामविरुद्ध छेडिएको युद्धमा पराजित भएपछि खमेर रुज शासन ढल्यो र त्यहाँ भियतनाम समर्थक सरकार स्थापना भयो। त्यसपछि जङ्गलतिर पलायन भएकोखमेर रुज सरकारलाई चीन र थाइल्याण्डको सहयोगमा संयुक्त राष्ट्रसंघले १९९० सम्म मान्यता दिएको थियो। १९९१ को पेरिस सम्झ्ौताअन्तर्गत संयुक्त राष्ट्रसंघको निगरानीमा सम्पन्न आम चुनाव बहिष्कार गरेपछि वैधानिकता गुमाएको खमेर रुजले १९९८ मा आत्मसमर्पण गर्‍यो। कम्बोडियामा भएको नरसंहारका दोषीलाई कानुनी कठघरामा उभ्याउने उद्देश्यले २००६ मा कम्बोडिया र राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालत गठन भएको छ। टुल स्लेङ नरसंहार सङ्ग्रहालयको तेस्रो तल्लामा सङ्कलित तत्कालीन कम्बोडियाबारे अन्तर्राष्ट्रिय समुदायका भनाइ एवं टिप्पणीहरूमध्ये स्वीडिस सरकारको प्रतिनिधिको रूपमा प्रजातान्त्रिक कम्पुचिया को भ्रमण गरेका एक स्वीडिस कूटनीतिज्ञले लेखेका छन्, “अहिले मलाई हामीले त्यत्रो नरसंहारको गन्धसम्म पनि किन पाएनौँ भन्ने पश्चात्ताप छ।”
खमेर रुजका नेताहरू मुलुकको आमूल परिवर्तनकै लागि जुटेका थिए। तर समस्या उनीहरूको सतही किताबी ज्ञान एवं हठी दृष्टिकोणमा थियो। समाजका चौतर्फी आयामलाई नबुझ्ी एवं तिनीहरूको उचित व्यवस्थापन नगरी एकाङ्गी ढङ्गले बलपूर्वक परिवर्तन गर्न सकिँदैन। त्यस्तै आफू मात्र अग्रगामी र त्यसमा प्रश्न उठाउने जति सबै प्रतिगामी भन्ने दृष्टिकोण रह्यो भने पनि त्यसले पुर्‍याउने त्यहीँ हो, जहाँ कम्बोडियाको खमेर रुज सरकार पुगेको थियो। यो बीभत्स इतिहासको अन्त्य भएको ३० वर्ष भइसकेको छ। तर त्यसले छाडेका विधवा, टुहुरा, अपाङ्गलगायत विभिन्न विकृतिले कम्बोडियाली समाजलाई अझ्ै छोड्न सकेको छैन।

डा. दुर्गाप्रसाद पौड्याल

No comments:

Post a Comment